Nepal Newsbox
२०८२ माघ २६ गते , सोमबार
Nepal Newsbox
सुदूरपश्चिमविरुद्ध विराटनगरको सानदार जित
काठमाडौँ, २० मंसिर । ओपनरद्वय फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक ब्याटिङप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान सुनिश्चित गरेको छ ।
यो जितसँगै विराटनगरले प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै भेट पक्का गरेको हो । सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदा विराटनगरले १० अंकसहित दोस्रो स्थान हासिल गर्यो ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
पहिलो क्वालिफायरमा स्थान बनाउन आज विराटनगरले सुदूरपश्चिमको लक्ष्य १३.४ ओभरभित्र पूरा गर्नुपर्ने समीकरण थियो ।
विराटनगरको जितमा ओपनरद्वय डू प्लेसिस र हेजलेट दुवैले आक्रामक अर्धशतक बनाए । डू प्लेसिसले २० बलमा पाँच चौका र चार छक्कासहित ५० रन बनाए । उनले १९ बलमै अर्धशतक बनाएका थिए । यो एनपीएलको दोस्रो संस्करणमा सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । यसअघि यो कीर्तिमान काठमाण्डूका भीम सार्कीको नाममा थियो । भीमले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमै अर्धशतक बनाएका थिए ।
अर्का ओपनर हेजलेटले २७ बलमा तीन चौका र चार छक्कासहित ५१ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ७.१ ओभर (४३ बल) मा ९७ रनको साझेदारी गर्दै विराटनगरलाई विस्फोटक सुरुआत दिलाएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका आरिफ सेखले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे । इशान पाण्डे ३८ रन थप्दा जस ब्रोनले २४ र विनोद भण्डारीे १५ रन थपे । कप्तान दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।
विराटनगरका सन्दीप लामिछानेले तीन विकेट लिए । प्रतिश जिसीले दुई र बसिर अहमेदले एक विकेट लिए ।