Nepal Newsbox
२०८२ माघ २६ गते , सोमबार
Nepal Newsbox
जडीबुटी र स्रोत–साधनलाई विज्ञानसँग जोड्नुपर्छ : डा. महावीर पुन
जडीबुटी र स्रोत–साधनलाई विज्ञानसँग जोड्नुपर्छ : डा. महावीर पुन
शिक्षामन्त्री डा. महावीर पुनले देशको समृद्धिका लागि नेपालको जडीबुटी तथा प्राकृतिक स्रोत–साधनलाई आधुनिक विज्ञान र प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन्। शिक्षा, नवप्रवर्तन र राष्ट्रिय विकाससम्बन्धमा बोल्दै उनले नेपाल प्राकृतिक रूपमा धनी भए पनि वैज्ञानिक अनुसन्धान र मूल्य अभिवृद्धिको अभावमा त्यसको पूर्ण उपयोग हुन नसकेको बताए।
“हाम्रो देशको जडीबुटी र स्रोत–साधनलाई विज्ञानसँग जोड्नुपर्छ,” डा. पुनले भने। उनले परम्परागत ज्ञानलाई वैज्ञानिक अनुसन्धान, प्रविधि र नवप्रवर्तनसँग जोडेर मात्रै प्रतिस्पर्धी र दिगो उत्पादन सम्भव हुने उल्लेख गरे।
शिक्षामन्त्री पुनले बहुमूल्य जडीबुटीहरू कच्चा रूपमा सस्तो मूल्यमा निर्यात हुने र त्यही जडीबुटीबाट बनेका तयारी सामग्री महँगो मूल्यमा आयात गर्नुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। यसले आयात निर्भरता बढाएको र राष्ट्रिय अर्थतन्त्र कमजोर बनाएको उनको भनाइ थियो।
उनले औषधि, स्वास्थ्य, कृषि तथा जैवप्रविधि क्षेत्रको विकासका लागि शैक्षिक संस्था, अनुसन्धान केन्द्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताए। साथै, प्रयोगशाला, वैज्ञानिक अनुसन्धान र सीपमूलक शिक्षामा सरकारी लगानी बढाउनुपर्नेमा पनि उनले जोड दिए।
डा. पुनका अनुसार विज्ञानसँग जोडिएको स्रोत–साधनको उपयोगले रोजगारी सिर्जना गर्नुका साथै देशलाई आत्मनिर्भर र दिगो समृद्धितर्फ लैजान महत्वपूर्ण भूमिका खेल्नेछ।