Nepal Newsbox
२०८२ माघ २६ गते , सोमबार
Nepal Newsbox
वीरगञ्ज महानगरका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश
काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राईसहित ठूलो संख्यामा जसपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
गएराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरु एमाले प्रवेश गरेका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव नेता इस्तिहाक राईलगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराउनु भएको हो । यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए ।
यसैगरी वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरु पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । प्रमुख सिंह् एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपाका लगायत अन्य पार्टीमा रहेका वडाअध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।
यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला सचिव महेश दासले जानकारी दिनुभयो ।
उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शीर्ष तहका नेताहरुले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा एमालेले उम्मेद्वार बनाउने भएको छ ।
यस्तै राईलाई एमालेले बाँके २ मा उम्मेद्वार बनाउने भएको छ ।