Nepal Newsbox
२०८२ माघ २६ गते , सोमबार
Nepal Newsbox
अचेल मंत्रीजी बौलाएका छन् (राजेन्द्र विमल सरको कथा)
अचेल मंत्रीजी बौलाएका छन्
राजेन्द्र विमल
‘उम्म्-म्वाँ !’
‘उम्म्-म्वाँ !’
‘उम्म्-म्वाँ !!’ अ..प..र..णा.. आइ लभ यू । पाताल, धर्ती र आकाशसम्म यो आवाज गुंजियो, अ...प...र...णा...आइ लभ यू !!
मन्त्री नन्दन शाहले दुवै हत्केला जोडेर तिनका बिचका आठवटा औंलामा तीन पटक ताता म्वाइ खाए र अंजूली भरी म्वाइ लिएर गूलाफका फूलझैं भ्रमकी प्रेमिका तिर फुकेर उडाइदिए । त्यसपछि जोर जोरले कराए—
अपर्णा !
अपर्णा !!
अपर्णा !!!
मन्त्री पूरा पागल होइनन् । आधी उधी पागल हुन् । आधिउधी, किनभने दिमागमा कहिले टावर आउँछ, कहिले पुरैं गोल । पूरैं गोल भएको बेलामा उनी श्रीमती, छोराछोरी, काम गर्ने केटो, सबैलाई बिनासित्तीमा भकुर्नसम्म भकुर्न थाल्छन् । उनीहरुले कंकला शब्द गरेर रोएको आवाज मेरो झुपडीसम्म पुग्दछ । उनले घरका भाँडाकुडा, टी.बी, कम्प्यूटर सबै सडकमा हुत्याउन थाल्छन् । दिमागको टावर पूरैं गोल हुन अलिक कसर बाँकी रहेको बेला उनी तीनतले घरको बार्दलीमा उभिन्छन् र भाषण ठोक्न थाल्छन् । सडकलाई उनी संसद भवन ठान्छन् र सडकमा उभिएका मानिसहरुलाई सांसदहरु । भाषणका विषय गजबका हुन्छन् । उनको आजको विषय थियो र्— राजनितीकको प्रारम्भिक इतिहासदेखि आजसम्मको राजनैतिक व्यावस्थाको उथुलपुथलमा यौनको भूमिका र भाषणको निक्र्योल थियो, गाँधीदेखि महरासम्मको राजनैतिक जीवनमा जब यौनको यत्रो महत्वपूर्ण भूमिका रहेको छ भने यौन—कर्मलाई स्क्यान्डल बनाएर त्यसको आधारमा कुनैं मुलुक वा समाजलाई ठूला महापुरुष, नेता वा अन्य प्रतिभावान व्यतिmले दिन सक्ने योगदानबाट वंचित गर्नु अनैतिक हो, ऐतिहासिक अपराध हो । भाषणको अन्त्यमा उनले सडकमा उभिएका मानिसहरुसित प्रश्न गरे, “कसैको केही बिगार नगरी यदि कसैले रक्सी र सेक्सको आनन्द लिन्छ भने के यसलाई अपराध भन्न मिल्छ ? यो डाहा हो, बुझ्नु भो, आफूले भोग्न नपाएको सुख अरुले भोग्न पाएको ईष्र्या हो ।’— नन्दू अर्थात मन्त्री नन्दराम तेलीले फेरी थपेर्, साथी हो ! पढाइ—लेखाइ छाड, कुनै राजनैतिक पार्टी ज्वाइन गर, पार्टीभित्रको एउटा शतिmशाली गीरोहको अगुवालाई धर्मपिता बनाऊ— तिमीले राज गर्ने छौं । होइन भने तिम्रो जीवन कुकुरको जीवनभन्दा बढी केही हुने छैन । सबैले थपडी बजाए । मन्त्री नन्दन शाह रोष्ट्रमबाट सिटम अर्थात् कोठामा फर्किए ; तर तीला भाउजूले अलिक बल प्रयोग गर्नुप¥यो ।
नन्दू तेली मेरा छिमेकी मात्र होइनन्, मेरा सहपाठी पनि हुन् । हामीर्ले चौरी’ मा संगसँगैं भैंसी चराएका हौं । भैंसी चराउँदा भैंसीको पिठयूँमा सुतेर नन्दूले गाएको गीत अझैं सम्झिन्छु म, ’हेलल हेलल महिसिया पानीमेर्– । केटाकेटी छँदा गुरुहरुलाई तेलमालिस गर्ने नन्दू, गाउँका डुमलाई पनि काका वा दादा भनी सम्बोधित गर्ने नन्दु, जामुनाका ठूलठूला रुखका टुप्पा—टुप्पासम्म पुगी काला—काला जामुना खाएर कालो—निलो जिब्रो देखाउने नन्दू, गाउँका पोखरीहरुमा दिन दिनभरि पौडी खेलेर ज्वरोले आँखा लालगेडीजस्ता राता—राता पारी घर फर्किने र पिता हरेराम तेलीका लात खाने नन्दू, एक दिन मन्त्री होला भन्ने कसले कल्पना गरेको थियो ?
सामान्यतया नन्दू सबैका प्रिय थिए, आँखामा राखे पनि नबिझाउने । तर, स्कुलमा कुटाइ नै नखाने चाहिं होइनन् । गाउँको बिचमा एउटा झ्याम्म परेको नीमको रुख थियो । त्यस रुखमुनि एउटा भारतिय गुरुजीले हातमा छडी लिएर स—साना बच्चाहरुलाई पढाउँथेर्— दुई एकान दुई, दुई दुनी चार...।’ हामी पनि बोरा, काठे पाटी र खली लिएर त्यहाँ पढ्न जान्थ्यौं । गुरुजीका आँखा बल्ढ्याङग्रा थिए, त्यसैले गाउँलेहुरुर्ले बल्ढ्याङग्रा गुरुजी’ भनेर उनको नयाँ न्वारान गरेका थिए । एक दिन कुर्सीमा बस्न लाग्दा कुर्सीको पौवा खुकुलो हुनाले बल्ढ्याङग्रा गुरुजी उत्तानो पल्टिनुभएछ र धोती माथि उचालिएछ । गुरुजीको दुर्वासा—आतंकले आतंकित चेलाहरुले केही नबोले पनि मुख हत्केलाले थिची खितितिती हाँसेका मात्र थिए, तर नन्दूले थाम्न नसकी ताली पिट्न थालेर्, देखिहाले –देखियो, गुरुजीको देखियो...।’ सोझो नन्दू तेलीले धेरै कुटाई खाएका थिए, त्यो दिन ।
नीमको रुखदेखि अलिक पर एउटा हर्फारेबडीको रुख थियो । त्यहाँ एउटा दारीवाल मौलबी बाख्रा चराउन आउँथे । एक दिन मौलबी इस्लामी टोपी लगाएर बीडिको धूँवा बुङबुङती उडाउँदैं बाख्रा चराउँदैं थिए । नन्दूलाई कुन्नि के सुर चल्यो, बाख्रालाई देखेर जोरले नग्वपुरे पाराले कराएर्, अल्ला—अल्ला— ले, ले अल्ला...।’ मोरो नन्दूले ‘र’ बोल्दा ‘ल’ निस्किन्छ भन्ने कुरा कुप्रे मौलबीलाई के थाहा ? उनले प्रष्ट सुने, अल्लाऽऽ.. अल्लाऽऽ..,ले, ले — अल्लाऽऽ.. । दारीवाल कुप्रे मौलबीलाई झनक्क रिस उठ्यो, ‘मलाई ‘अल्ला—अल्ला भनी गिज्याउने ? उनी जुरुक्क उठे, दौडेर नन्दूलाई च्याप्प समाए । कन्सिरीबाट आगोको झिलिङ्गो निस्किने गरी चार झापट ड्याम्म—ड्याम्म हिर्काइहाले । बिचरो नन्दूले केही बुझ्न सकेनन् । हत्तपत्त बूढोलाई ढोगे । घर फर्किए । रुन पनि सकेनन् । मात्र गाला सुमसुम्याइरहे ।
पाँचौं कक्षा सम्म नन्दू कक्षामा प्रथम आउँथे । सबैले भन्थेर्, उसको बाबु हरेराम तेली स्कुलका सेक्रेटरी हुन्, त्यसैले ऊ फस्ट आउँछ । तर, रामरती देवी स्कुलबाट उत्तीर्ण भएर जब उसले सनसाइन माध्यमिक विद्यालयमा भर्ना लिए, उनी सामान्यभन्दा अलिक राम्रो छात्र मात्र सिद्ध भए । उनको संगत कौशल, रामचन्द्र, बौआलाल जस्ता आवारा किशोरहरुसित भयो । जामुनाका रुखका टुप्पामा चढ्ने र पोखरीहरुमा पौडी खेल्ने जस्ता उनको बानी यसै बेला यिनै आवाराहरु संगतमा आएको हो । केटा केटीमा कसैले उनलाई ‘पढेर के बन्छौं बाबु ? भनेर सोध्दा उनले गर्वसाथ भन्थे ‘छाइन्तिस’ अर्थात् ‘साइन्टिस्ट’ । डा. हरेराम तेलीको छाती टप्पन इन्चको हुन्थ्यो, फुलेर । अब त्यो खुम्चिदैं गएको छ ।
कौशल नौं कक्षामा पढ्थ्यो, चार वर्षदेखि । सधैं फेल हुन्थ्यो । तर एक हुल विद्यार्थीहरुको हिरो थियोृ । ऊ क्रिक्रेट राम्रो खेल्थ्यो । ऊ गीत राम्रो गाउँथ्यो । माउथ अर्गन राम्रो बजाउन्थ्यो । नाच्न जान्दथ्यो । ने. वि. संघको सदस्य थियोः चाहेको बेला स्कुलमा हडताल गराउन सक्थ्यो । रामचन्द्र र बौआलालले उसको चाकरी गर्थे, स्कुलको फिस माफी गराउन । केही केटीहरु पनि उसको नजिक पर्न हुरुक्कै हुन्थे । कौशल चटके थियो । बीडि सल्काएर सल्केको भाग मुखमा हाल्थ्यो र नाकबाट सुर्र धूँवा निकाल्न सक्थ्यो । गाँजा र भाँङ पचाउन सक्थ्यो । ठाडो घाँटी लाएर दारुको बोतल रित्याउन सक्थ्यो । सावित्री भन्ने एकजना केटीले उसलाई रुखको टुप्पामा फलेर पहेंलो भई पाकेको आँप टिपेर ल्याइदिन लाडिएर भनि । रुख अग्लो थियो । ऊ टुप्पोसम्म पुग्यो । रुखमुनि रमिता हेर्ने विद्यार्थीहरु घुँइचो लागे । कौशल टुप्पामा रहेको एउटा पातलो नपालतो हाँगाामा उभियो, नाच्न र ताली बजाउन थाल्यो । तल उभिएका लगभग पचास जना झन् रौसियो । झन् मच्चिएर नाच्न थाल्यो । तल उभिएका लगभग पचास जना विद्यार्थीहरु पटटट ताली पडकाए । तर दुर्भाग्य ।.... एकै छिनमा कौशल हाँगा सहित भुईमा गल्र्यामगुर्लुम लड्यो । करङ; पिडौला र पिठयुँ गरी सात ठाउँमा हाड पिटिक्क–पिटिक्क भाचिएर टुक्रा—टुक्रा भए । तीन महिना जति अस्पतालमा प्लास्टर लगाएर अइया—आत्था गर्दै, ठसठसी कनिरहयो । तै पनि स्कुलमा राम्रा–राम्रा केटीहरुले हेर्न आउँदा, उसलाई छाम्दा, सुमसुम्याउँदा उसलाई स्वर्गानुभूति र गर्व हुन्थ्यो ।
बाह्र वर्षको नन्दु चटके कौशलको चुम्बकिय व्यक्तित्वले तानियोे । अब उनी ने. वि., संघका बैंठकहरुमा जान थाले । पढाइ छुट्यो । साइन्टिस्ट हुने सपना चकनाचुर भयो । देशमा प्रजातन्त्र ल्याउने सपनाको ताना—बाना बुनि रहन्थे उनी । नौ कक्षा पुग्दा प्रत्येक विषयमा उनी अनुत्तीर्ण हुने अवस्थामा आए । तर, उनको बाबु डा. हरेराम तेलीको पुर्पुरोको अभिलेख । यसै वर्ष लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा लोकतान्त्रिक जन—आन्दोलन थालियो । क्रान्तिमा होमिने सप्तरीका विद्यार्थीहरुको नेतृत्व कंचनपुर गाउँको रणवीर सिंहले गथ्र्यो । नन्दूलाई पनि नेपाली कांग्रेसको झण्डा बोकेर जुलुसको अगाडि अगाडि हिड्न लगाइन्थ्यो । विद्यार्थीहरुको जमात लिएर उनी प्रहरीहरुको समूहलाई ताकी ढुङगां—मुढा गर्न थाले, पसलका सटरहरु बन्द गराउन थाले । बसदेखि साना वाहनमा आगजनी र तोडफोड गर्थे । रणवीर सिंहले यी क्रान्तिकारी विद्यार्थीहरुलाई मासु–चखनादेखि ड्रगसम्म उपलब्ध गराउँथ्यो । भाला—बर्छाले तिनलाई लैंस गथ्र्यो र क्रान्तिमा होम्थ्यो । क्रान्तिकारी भाषणले उत्तेजित पारेर । उसले नन्दूलाई कुन्नि कुन ड्रग, कुन मात्रामा दिन्थ्यो, नन्दू मर्न—मार्न पागल हुन्थे । उनमा सय सिंहको बल आउँथ्यो र उनी राजाको सेनामाथि आक्रमण गर्न हुंकार गर्न थाल्यो । ठाउँ–ठाउँमा हात—हतियारले लैस पुलिस र सेनाको टुकडीलाई देख्नासाथ उनी कम्मरमा बेरेको नेपाली कांग्रेसको झण्डा झिक्थे र हातमा लिई हावामा लहराउन थाल्थे— ‘नेपाली कांग्रेस जिन्दावाद, राजा वीरेन्द्र—मुर्दावाद । ’
नेता रणवीर सिंहकी छोरी थिई—अपर्णा । उमेरमा नन्दूभन्दा जेठी थिई । रुपवती थिई बैंसालु थिई र रामनगर कृषि विद्यालयमा स्नातक प्रथम वर्षमा पढ्दैं थिई । अपर्णाप्रतिको आकर्षणले नन्दूमा क्रान्तिको थप उन्माद थपेको थियो । सत्य त के हो भने, क्रान्तिमा आफ्नो शौर्य देखाएर उनी अर्पणालाई प्रभावित गर्न चाहन्थे । अपर्णाले पनि नन्दूमा के देखी, कुन्नि, उनलाई अंगालोमा लिई पटक—पटक म्वाइ खान्थी र सार्वजनिक रुपमा भन्थी, ‘नन्दू इज द लवलिएस्ट च्याप इन द वल्र्ड ।’ यो वाक्य सुन्नासाथ नन्दूको शिरमा चार बोतल ब्ल्याक हर्सको नशा चढ्थ्यो । उनी नियंत्रणहीन, पागल हात्तीजस्ता हुन्थे ।
अर्पणाको पिता रणविर सिंहले क्रान्तिकारी विद्यार्थीहरुलाई समूह—समूहमा विभक्त गरे । तिनका लागि प्रदर्शन गर्ने कामको नाम, स्थान र समूहनायक तोके । नायकलाई कप्तान भनियो र फरक—फरक सूचीहरुको माथि उनको नाउँको अंग्रेजी संक्षेप लेखियो । अब ‘स’—समूहमा प¥यो नन्दू तेली । उसले पाएको नामावली—सूचीको माथि लेखियो—‘कप्तान—एन.टी.।’ एन.टी. भनेको नन्दू तेली नभई नर्मदेश्वर थापा थियो । समूहका सबै सदस्यहरुलाई एक—एकवटा टिनको सिठी, पार्टीको एउटा झण्डा र समूहको नामावली थमाइन्थ्यो । नन्दूको समूहले मेन रोडमा मशाल जुलुस निकाल्ने जिम्मेवारी पायो । जुलुस दुई सय गज अगाडि के गएको होला, अकस्मात् पुगेको सेनाको बख्तरबन्द गाडीबाट उत्रिएर सेनाले केटा र केटीलाई जथाभावी कुट्न थाले । लगभग सबै भाग्न सफल भए । महान् क्रान्तिकारी नन्दू तेलीलाई अर्पणाले विजय—तिलक लगाएर पठाएकी थिइ, कसरी भाग्थे । नन्दूको तलासी लिइयो, उसको कमेचमुनिबाट चारतारे झण्डा निस्कियो । युवा क्रान्तिकारी समूहको त्यो नामावली निस्कियो, जसको टुप्पोमा लेखिएको थियो, कप्तान एन.टी.। सेनाको प्रमुखले अर्थ बुझ्यो, कप्तान नन्दू तेली । बुटैबुटले उनको जीउलाई रक्तमे पारियो । उनलाई गाडीमा शवझैं लादियो र त्यस शवजस्ता नाबालकमाथि ती बुटधारी राक्षस सैनिकहरु क्रुरतापूर्वक उभिए । सात दिनपछि नन्दू नाबालक रहेको आधारमा मुक्त भए । उनले टाउको हल्लाउँदा धेरै दिनसम्म उनको खप्परभित्रबाट गिलासमा गुच्चा हालेर हल्लाउँदा निस्किने आवाजजस्तो आवाज निस्किन्थ्यो । उनको अवस्थ देखेर डा. हरेराम धेरैं रुन्थे । आमा पटक—पटक बेहोस हुन्थिन् । तर, नन्दू के मान्थ्यो ! सेनाको क्याम्पबाट मुक्त गरिएपछि उनलाई हेर्न आएकी अपर्णाले उनको जीउभरि म्वाइ खाई । ऊ तङ्गियो । फेरि आन्दोलनमा फर्कियो । डा. हरेराम र उनकी श्रीमती रेखा देवीले रेडियोबाट सुने, नन्दू फेरि पक्राउ परे । उनलाई पुलिसले घिर्सादैं लगे रे । उनले सात दिनदेखि खाएको थिएन रे । कसैले भन्थ्यो, सेनाले बन्दूकका नालीले कुट्ता—कुट्ता उनी रगत छादेर मारे । अर्कोले भन्थयाmे उनको टाउँको मात्रै चरीकोटको जंगलमा फेला प¥यो अरे ।
थरीथरीका कुरा सुनेर हरेराम दप्पत्तीको सातो जान्थ्यो । भोक थिएन, निद्रा थिएन । कसैको पदध्वनी सुनियो कि दुबै कुदिहाल्थे, छोरो आयो कि भनेर । एक दिन कसैले सुनायो, आर्मीका मान्छेले सात जना क्रान्तिकारीलाई कमला किनारमा खाल्डो खनी पुरिदिए । त्यसै दिन डा. हरेरामलाई हृदयघात भयो । आमाको नाकका दुवै पोराबाट रगतको धार निस्किए । झन्डैं ब्रेन हृयामरेज भएन ।
जब देशमा बहुदलीय लोकतन्त्रको घोषणा भयो, झ्यालखानाका ढोकामा बन्द राजनैतिक कैदीहरुको मुक्त वायुमण्डलमा साँस फेर्न पाए । नन्दू तेलीको स्वागतको भव्य तैयारी थियो सप्तरीमा । उनको अबिर जात्रा गरियो । उनलाई मालाको थुप्रोमा पुरियो । तर, उनको पितालाई फर्काउन सकिएन । आमाको अवस्था पनि चिन्ताजनक थियो ।
सप्तरीमा दलको कुनैं राष्ट्रिय कार्यक्रम हुँदा पार्टीका शीर्ष नेताहरु गिरिजा बाबू, किसुन जी, गणेशमान सिंहको पदार्पण हुन्थ्यो । सबैले नन्दूको काधँमा हात हाल्थे । सबैले पिठ्यूँमा धाप मार्थे । जनताले देख्ने गरी । रणवीर सिंह र अपर्णा सधैं उनलाई छायाँझैं पछयाउँथे । सबैले भन्थे, अब यस पालि संसदिय चुनावमा नन्दूले कांग्रेसको टिकट पाउने भए । तर, जातिवाद, सम्प्रदायवाद, नातावाद, कृपावाद, गिरोहवाद, जस्ता फलामे साङ्लामा जेलिएका कथित लोकतान्त्रिक पार्टीहरु भित्रको घोर अलोकतान्त्रिक संस्कारको विद्रूपता जब टिकट वितरण र मनोनयनमा प्रकट हुन थाल्यो, उनको धैर्यको बाँध भत्किन थाल्यो । उनले कतै कुनै स्थान पाएनन् । उनी निरास हुँदै गए । फेरि, सिङ्गो मधेस कथित अधिकारीवादी क्रान्तिको महाज्वालामा जल्न थाल्यो । थरी—थरीका अधिकारको माग उठे । एउटा राष्ट्रध्वशंक संस्कृतिको विकास देशमा हुन थाल्यो — पहाडेलाई गाली गरे मुख्यमन्त्रीसम्म हुन सक्ने, मधेसलाई गाली गरे प्रधानमन्त्रीसम्म हुन सक्ने संभावनाको मनोविकास भयो । उनले पनि पहाडेहरुको घरमा ढुगां फाले, चिच्याई—चिच्याई गाली गरे । कथित मधेसवादी पार्टीका महान नेता आजाद मधेस दलका माननीय अध्यक्ष सुखीलाल यादवको टाउकोमा पुलिसले लट्ठी हान्दा सुखीलाल बेहोस भएको थियो । उसको खप्पर फुटेको थियो । विराटनगरको न्यूरो अस्पतालमा एक्काईस दिनसम्म उसको उपचार भएको थियो । यस एक्काइस दिनसम्म नन्दू तेलीले सुखीलाल यादवको त्यति सेवा गरे, जति हनुमानले रामजीको सेवा पुरैं जीवनमा गरेन होला । त्यसमाथि उनले गैरी खेत बेचेर एक करोड पार्टीलाई चन्दा पनि दिए । फलतः वरदान पनि पाए । जब बारबुँदे समझौतापछि गठबन्धन सरकार बन्यो, नन्दूले खाद्यान्न तथा कृषि मन्त्री बनेर राजनैतिक मोक्ष पाए ।
जुन दिन उनले मन्त्री पदको शपथ लिए, आन्दोलनमको बेला पुलिसको हातबाट खोसेको बन्दूक लिएर चउरमा गए र एक सय एक हवाइ फायर गरे । अलि—अलि त त्यसै बेला सन्किएका हुन् नन्दू । उनले कल्पनै गरेको थिएन उनको अगाडि—पछाडि कुनैं दिन चिल्ला कारहरुको लस्कर कुद्ने छ, विहान—विहानैं सेनाले उनलाई सलामी दिने छ, उसको एउटा झझल्को पाउन भीडमा आएका जनता आपसमा तछाड—मछाड गर्ने छन् । उनको खुट्टा भुईमा थिएन । उनले अब घन्टौं भाषण ठोक्न सक्थे, टी.बि. मा चामत्कारिक रुपमा राजनैतिक विश्लेषण गर्न सक्थे । नन्दू तेली हिरो । उनले देशभरिका खाद्यान्न गोदाम र ठूल्ठूला होटल र मिठाई पसलहरुमा छापा मार्न लगाए । मिलावट विरुद्धका कठोर कानुनहरुको कठोरतापूर्वक पालन गर्न लगाए । मिलावट गर्नेहरु सिधा जेल पुगे । काला बजारियाहरु बोराका बोरा नोट उनको दैलोमा बर्साउन थाले । मन्त्री तेलीले नेपालको इतिहासमा पहिलो पटक कृषि बिमा लागू गरे । कृषकहरुले जयजयकार गरे । कृषक र कृषि अनुसन्धान केन्द्रको पहिलो बैंठकमैं पुग्दा डाइरेक्टरको पदमा अर्पणालाई देखेर उनी आश्चर्यचकित भए । दुवैको सम्पर्कमा प्रगाढता अझ बढ्न गयो । अर्पणाका पति राजकमल खड्का पुनरावदेन अदालतमा अधिवक्ता रहेछन् । पति यौन दुर्वलताको शिकार भएका हुनाले अर्पणाको हृदय मातृत्व–सुखका लागि हाहाकार गरिरहन्थ्यो । अब संभवत्ः उसको नारीत्वले नयाँ अर्थ ग्रहण गर्ने आशापूर्ण संभावना जागेको थियो । अपर्णाभन्दा कनिष्ठ कर्मचारीले माओवादी सरकारको पालोमा बढुवा पाएको थियो । त्यो प्रतिशोधको ज्वाला पनि ऊभित्र थियो । अब ऊ सजिलैं सह —सचिव हुन सक्थी । त्यसैले दिन दहाडैं ऊ नन्दूको मन्त्रालय जान्थी र मिटिङको निहुँले मन्त्रालयभित्रैं नन्दूसित रोमान्स गर्थी । नन्दू नारीदेहमा पल्किदैं गयो, अर्पणाको उत्तेजना पाएर । अपर्णाकै सिफारिशमा रीता नाउँ गरेकी एउटी युवती उसको जालमा फँस्न पुगी । रीताका पिता र अपर्णाका पति पुनरावेदनमै साथी रहेछन् । मन्त्री नन्दू तेलीसित एउटा भद्र संझौता के भयो भने, नन्दूले रीतालाई आफ्नो मंत्रालयमा अधिकृत स्तरको जागिर दिनेछ र त्यसको साटो रीतालाई लिएर मन्त्री महिनामा दुई पटक सम्म नगरकोटमा वा चन्द्रगीरीमा सँगैं दिन बिताउन पाउँनेछन् । निहुँ मन्त्रालयमा त्यही मिटिङको हुनेछ । नन्दूले देह—भोग रीतासँग जति गरेपनि उसको आत्मिक प्रेम अर्पणा सितैं थियो । एक पटक मन्त्रीले रीतालाई एउटा अन्तराष्ट्रिय कृषि सम्मेलनमा भाग लिन सँगै हङकङ लगे । त्यहाँ केही भयो कि त्यहाँ मन्त्रीसँगै गएको मुद्दालाई लिएर घरमा सधैं चर्किने कलह चरमा बिन्दुमा पुगेर हो कि, त्यहाँबाट फर्किएको साथ दिन भित्रै रीता होइन, रीताको लाश गुहृयेश्वरीको जंगलमा एउटा सल्लाको रुखमा झुन्डिएको पाइयो । ऊ एक दिन पहिले पशुपति दर्शनका लागि गएकी थिई । चारैतिरबाट आरोपको बौछार नन्दूमाथि हुन थालेको थियो । नब्बे प्रतिशत केन्द्रिय सदस्य बनाइएको थियो, त्यसमा यादवकैं वचस्र्व थियो । नब्बे प्रतिशत केन्द्रिय सदस्य यादव जात कै थिए । उनीहरु सबैका आँखाको कसिगंर थियो यो तेली मन्त्री । सबैको दबाबमा पार्टी अध्यक्ष सुखीलाल यादव नन्दूलाई पार्टीबाट निस्कासन गर्न बाध्य भए । ‘नन्दूले मन्त्री क्वाटर खाली गर्न पत्र पायो । अपर्णाका पति उसलाई दुई दिनका लागि पनि आफ्नो घरमा बास दिन राजी भएनन् ।
यसै दुर्भाग्यका बिच मन्त्री नन्दूको विरुद्ध अर्को मामिला पनि अगाडि आयो । संचार माध्यममा छ्यापछ्याप्ती देखियो, भारतिय सिमामा नाकाबन्दी गएिको बेला एउटा डी.एस.पि. को पाशविक किसिमले हत्या भएको थियो, जसमा हत्या नन्दूको अगुवाईमा भएको रहेछ । नाकाबन्दीको लाभ उठाएर उनले पेट्रोलको तस्करी गर्न थालेका थिए अरे । निगरानीको लागि गएको डि.एस.पि. राजीव कँडेलको टोलीले पेट्रोलको सिलिन्डरले भरिएको ट्रक रोक्ता नन्दूले उनको मधेस मुक्ति दलमा भित्रिएका अपराधिहरुको समूहहरुको सहयोगमा कँडेलको हत्या गरेका थिए अरे । विशेष अदालतले डि.एस.पि. कँडेलको हत्या गरेको सिद्ध भएको हुनाले नन्दूलाई आजीवन कारावासको सजाय सुनायो । मरिच र सुकुमेलको ठूलो व्यापारी लादू साहुले भ्रष्टाचारहरुको प्रमाण संलग्न गरी उनको विरुद्ध अख्तियार दुरुपयोग आयोगमा निवेदन दर्ता गरायो । त्यो आरोप पनि सिद्ध भयो र उनलाई पाँच वर्ष कैद, ४० करोड पचपन्न लाख ९५ हजार ९ सय नब्बे रुपैया दस पैसा जुरमाना र त्यहिं बराबरको बिगो जफत गर्ने फैसला गरियो । शुद्धिकरण अनुसन्धान विभागले लगभग ८८ करोड रुपैयाको स्रोत नखुलेको दाबी गरेको थियो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १० उपदफा १ अनुसार नन्दू भयानक अपराधकर्मी सावित भएका थिए र उनका तुलना हिन्दी सिनेमाका डर लाग्दा अपराधी ‘दादा’ हस्रसित गर्न थालिएका थिए । नन्दूलाई जेल चलान गरियो । उनलाई भविष्यमा ‘साइन्टिस्ट’ को रुपमा देख्ने शिक्षकहरुका मिठा—मिठा कल्पनाहरु नक्खु जेलभित्र कुहिँदैं थिए । आमा पनि स्वर्गीय हुनुभयो र तिनको मलामी जाने मानिस पनि दस जना नातेदार बाहेक कोही निस्किएन ।
बाह्र वर्ष पछि जब नन्दू जेलबाट फर्किए, उनी प्रति कसैले कुनैं सम्मान देखाएन । समाजमा आफ्नो अकल्पित अपमान देखेर उनी मुर्मुरिन्थे, ‘साला सक्खरमा झुत्तिने कमिलाहरु ।’ उनी बौलाए, तर आफूलाई बौलाहा मान्न उनी तयार थिएनन् । श्रीमती, छोरो, बुहारी र घरका सबै सदस्यलाई उनी प्रतिपक्षी दलका सदस्य ठान्थे र घरलाई संसद । संसदमा जस्तैं घरका कुर्सीहरु उचालेर उनी बूढी, बुहारी र एकलौटो नातिको खप्परमा हान्थे । छानो उचाल्ने गरी चिच्याउँथे, म संसद चल्न दिन्न ।’ त्यसपछि संसद अवरुद्ध हुन्थ्यो । इन्क्लाव जिन्दावाद । भ्रष्टाचार बन्द गर । महङ्गी—नियन्त्रण गर ।
आज विहानै उनको बौलट्टीपन पराकाष्ठामा पुगेको थियो । उनी आफ्नो पाँच तले बाल्कनीमा उभिए, मुठी बाँधेर माइकको कल्पना गरे र त्यसलाई मुखमा टाँसेर गर्जिन थाले, ‘दारु र सेक्स फ्री हुनुपर्छ । जिन्दगीको मज्जा लिनु मौलिक अधिकार हो । फन्डामेन्टल राइट ।.... तेरो बाबुको के जान्छ ? कोठाभित्र जे पनि गर्न पाउनुपर्छ । .... संसारमा को भ्रष्टाचारी होइन ।.. तहकीकात होस् । साले, ठूलो भ्रष्टाचारले सानो भ्रष्टाचारको डाहा गरेर हुन्छ ?.... भ्रष्टाचारको मौका नपाएकाहरुले भ्रष्टाचारको विरोध गर्ने र मौका पाउनासाथ त्यसमा चुर्लुम्म डुबाउनेहरुको देशको सिस्टमै यस्तो छ । ... तेरो सिस्टमै यस्तो छ, जसरी भए पनि पैसा कमाऊ । पैसा, पावर, पोजिसन, प्रेस्टिज, एजुकेसन, पैसा छ भने सब तेरो । छैन भने, तेरो जिन्दगी एउटा गुलामको जिन्दगीभन्दा पनि गएगुज्रेको हुन्छ ।’...
बाथकी रोगिणी तीला भाउजू खोच्याउँदैं बार्दलीमा आइन् र उनलाई भित्र लैजान तान्न थालिन् । तर, उसको भाषण बन्द भएन, ‘हाम्रा जस्ता देशमा सबै राजनैतिक व्यावस्था टाठा—बाठाहरुले भ्रष्टाचार गर्न पाउने व्यावस्था हुन पुगेको छ । ... नो लोकतन्त्र... नो करप्सन । नो डेमोक्रेसी...।’ भाउजूले जत्ति—जत्ति बल लगाएर तान्थिन्, उनी त्यत्तिनै नाइटोदेखिको बल झिकेर चिच्याउँथे, ‘डेमोक्रेसीबाट भ्रष्टाचार र ग्ल्यामर झिकिदेऊ, साले कोही चुनावमा उठ्न पनि मान्यो भने म कुत्ता...। म कुत्ता...तिमी कुत्ती...’
भाउजू नन्दूलाई भित्र लैजान सफल भइन्, तर गर्जन अझैं सुनिन्छ । म उनको साथी, उनको छिमेकी । अरुले जे भने पनि, मेरो मनले प्रश्न गर्छ, के मेरो साथी नन्दू मन्त्रीबाट निष्कासित भएपछि पागल भए कि उनी त्यसै दिन पागल भए जुन दिन ‘साइन्टिष्ट’ हुने सपना छाडेर मन्त्री हुने सपना देख्न थाले??.... हो, उनी त्यसै दिन पागल भएका थिए, जुन दिन उनले जीवनमा सक्रिय राजनीतिलाई प्रश्रय दिएका थिए ।
तीला भाउजूले नन्दूलाई कोठाभित्र लगेर थुनिन् । म सडकमै थिएँ । भाउजूले मलाई सडकमा देखेकी रहिछन् । उनी सप्कोले आँसु पुछ्दैं, तल झरिन् ।
मैले अचम्म मानेर सोधे, ‘भाउजू, नन्दू किन बौलायो ?’ भाउजूले रुँदैं भनिन्, ‘बाबु, उहाँ बौलाउने धेरै कारण छन् । उहाँले म जीवनभरि मन्त्री भएर खान्छु भनेर सोच्नुभएको थियो क्यारे । तर, तुलसीपुर, दाङमा कृषिमन्त्रीको रुपमा भाषण गर्दागर्दै उहाँले मन्त्री पदबाट खारेज भएको कुरा एक्कासि सुन्दा नै पहिलो पटक उहाँको दिमाग खज्मजिएको मैले अनुभव गरेकी थिएँ । मन्त्री पदबाट खारेज भएकै दिन क्वाटर खाली गर्न परेको र सुरक्षा व्यावस्था खोसिएको पिर छँदैं, अपर्णाले उहाँलाई रीताको हत्यारा भनेर अब उप्रान्त फोन नगर्न भन्दा उहाँलाई ठूलो चोट परेको थियो । उहाँ प्रत्येक विहान उठेर बैठकमा जानुहुन्छ र त्यहाँ कुर्सीहरु खाली देखेर कराउनुहुन्छ । मन्त्री भएको बेला यी सबै कुर्सी भरिभराउ हुन्थे, तर अब चरोमुसो पनि ढिम्किदैन । अनि उहाँको बौलकट्टीपन बत्तिन्छ । अब विहाविहानै सलामी दिने सेना हुँदैनन्, उहाँ तल गएर फर्किनुहुन्छ, अनि झन् पागल हुनुहुन्छ ।.... यहाँ सबै पावरका भोका छन्, बाबु पावरका भोका...’ भन्दै आँसु पुछ्दै भाउजू फेरि माथि उक्लिइन् । मैले मनमनै सोचे, मन्त्री नन्दू ‘शाह’ बन्नुभन्दा भैंसी चराउने मेरो साथी नन्दू ‘तेली’ नै ठिक थियो । सुखी थियो, पागल त थिएन !!