Nepal Newsbox
२०८३ वैशाख १३ गते , आइतबार
Nepal Newsbox
परिवर्तनको घन्टी
परिवर्तनको घन्टी
---------------+++
जुन दिन हजुरको
महलमा
खाइने परिकारजस्तै
लोमान्थाङको लाक्पा लापाको भत्किएको झुपडीबाट हजुरकै पराक्रमले परिवर्तित भएको महलभित्र पनि उनका लाला बालाले उस्तै परिकार
खाएर रमाउने छन्,
मेरो हृदयभित्र परिवर्तन को पहिलो घन्टी बज्नेछ-टिङ्ग्रिङ ..टिङ्ग्रिङ,..टिङ्ग्रिङ..
जुन दिन हजुरका छोरा-छोरी,
र, सिरहाको हथियाही गाउँ बस्ने
दिलचनमा डोमका
छोराछोरीहरू
एउटै स्कूलमा एउटै बेन्चमा बसेर,
संगसंगै पढ्ने मुहूर्त आउँछ,
मेरो हृदयभित्र परिवर्तनको घन्टी फेरि बज्छ-टिङ्ग्रिङ.. टिङ्ग्रिङ.. टिङ्ग्रिङ..
जुन दिन हजुर , हजुरका बाबु-आमा
वा छोरा-छोरीले विदेशको अस्पताल नगई
आफ्नै मातृभूमिको ठूलो अस्पतालमा
उपचार गराउन पाउने छन्
र वालुङचुङको तिप्तिला भञ्ज्याङका
नेप्टे वालिङ ,उनकाआमा-बाबु तथा
छोरा-छोरीका पनि त्यसै अस्पतालमा
उपचार गर्ने औकात पुग्नेछ,
हाम्रो हृदयभित्र परिवर्तनको घन्टी बज्नेछ-टिङ्ग्रिङ.. टिङ्ग्रिङ.. टिङ्ग्रिङ.
.
जुन दिन जोमसोमको बेहुला
रूपकुमार बिष्ट
झापाको घैलाडुब्बाकी विधवा पोडेनी
दिलमायाकी छोरीसित,
अलकत्रे बाटो समाती,
झ्याइँझ्याइँ पञ्चेबाजा बजाउँदै,
बिहा गर्न आउनेछन्,
मेरो हृदयभित्र परिवर्तनको घन्टी बज्नेछ-टिङ्ग्रिङ .. टिङ्ग्रिङ.. टिङ्ग्रिङ..टिङ्रग्रिङ..
- डा. राजेन्द्र विमल