Nepal Newsbox
२०८३ वैशाख ३१ गते , बिहीबार
Nepal Newsbox
अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन
अनुसन्धान, नीति र बजारलाई जोड्ने मेगा कलेजको अन्तर्राष्ट्रिय सम्मेलन
नेपालमा उच्च शिक्षा प्रायः सैद्धान्तिक ज्ञानमा सीमित भएको आलोचना भइरहेका बेला मेगा कलेजले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलनलाई शिक्षा, अनुसन्धान र बजारबीचको दूरी घटाउने प्रयासका रूपमा हेरिएको छ। मेगा कलेजका प्राचार्य डा. घनश्यामप्रसाद साह ले सम्मेलनलाई केवल शैक्षिक कार्यक्रम नभई नीति निर्माण, आर्थिक सुधार र विद्यार्थीको भविष्यसँग जोडिएको पहलका रूपमा प्रस्तुत गरेका छन्।
सम्मेलनको मुख्य विशेषता भनेको कानुन, कर प्रणाली, डिजिटल अर्थतन्त्र र दिगो विकासजस्ता समसामयिक विषयमा सार्क राष्ट्रका अनुसन्धानकर्तालाई एउटै मञ्चमा ल्याउनु हो। यसले नेपालले विश्वव्यापी आर्थिक परिवर्तन र प्रतिस्पर्धालाई कसरी आत्मसात गर्ने भन्ने विषयमा गम्भीर बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
डा. साहले अनुसन्धानलाई बजार र रोजगारसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्। नेपालमा धेरै विद्यार्थी डिग्री लिए पनि व्यावसायिक प्रतिस्पर्धामा कमजोर देखिने अवस्थालाई यस्तो सम्मेलनले सुधार गर्न सक्ने विश्वास गरिएको छ। विशेषगरी उद्यमशीलता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी छलफलले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनेछ।
सम्मेलनको अर्को महत्वपूर्ण पक्ष भनेको नीति निर्माणमा यसको सम्भावित प्रभाव हो। अनुसन्धानबाट आएका निष्कर्षले सरकारलाई कर, व्यापार र आर्थिक नीतिमा सुधार गर्न दबाब दिन सक्छ। यस अर्थमा मेगा कलेजको पहल शैक्षिक कार्यक्रमभन्दा बढी राष्ट्रिय विकाससँग जोडिएको रणनीतिक प्रयासका रूपमा देखिन्छ।
सम्मेलनमा डा. डिल्लीराज शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
मेगा कलेजले नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा आगामी जेठ १ र २ गते कलेज परिसरमा हुने जनाइएको छ।
मेगा कलेजले यसअघि सन् २०१९ मा पनि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। यसपटकको सम्मेलनले विशेषगरी अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगी–व्यवसायी, नीति निर्माता तथा विद्यार्थीहरूलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ।